pokhara news

कतारमा वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीहरूको संख्या ठूलो छ । वैदेशिक रोजगार विभागका अनुसार गत मंसिर महिनासम्म रोजगारीका लागि कतार जाने कामदारको संख्या सबैभन्दा उच्च थियो । मंसिर महिनामै ८ हजार ५ सय ९५ जनाले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यो अंक अरू देश जानेहरूको तुलनामा सबैभन्दा बढी हो । झन्डै एक वर्षअघि कतारमा छिमेकी देशहरूले नाकाबन्दी लगाएपछि नेपालीहरू रोजगारी गुम्छ कि भन्ने चिन्तामा थिए ।

श्रम, रोजगार तथा सुरक्षामन्त्री गोकर्ण विष्टले कतार जान चाहने कामदारहरूका लागि१ रुपैयाँ पनि खर्च गर्नु नपर्ने नियम ल्याउने तयारी भैरहेको बताएका छन् । त्यसका लागि कतार सरकारसँग छलफलसमेत भैरहेको मन्त्री विष्टले जानकारी दिएका छन् । छलफल अन्तिम चरणमा पुगेको छ । मजदुरहरूका लागि कतारको श्रम बजारसम्म सहज पहुँच बनाउन यस्तो प्रावधान ल्याउन लागिएको हो । यतिबेला कतार जाने कामदारका लागि फ्री भिसा, फ्री टिकटको प्रावधान लागू भए पनि कार्यान्वयन भने भैसकेको छैन । कतारमा लागेको नाकाबन्दीको कूटनीतिक प्रभाव जारी रहँदा लामो समयदेखिको अन्यौल भने कायमै छ । नाकाबन्दीको असरका कारण नेपालबाट कतारलगायत अन्य खाडी मुलुकमा रोजगारीका लागि जाने कामदारको संख्या केही हदसम्म घटेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

०७४, २२ जेठदेखि ६ वटा छिमेकी खाडी देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेर कतारमाथि नाकाबन्दी लगाउँदै आएका छन् । पछि ती देशले नाकाबन्दी हटाउने भन्दै गत २३ जुनमा १३ बुँदे सर्त राखेर कतारलाई पत्र पठाएका थिए । उक्त पत्रलाई कतारले बेवास्ता गर्दै आएको छ । कतारले आफूमाथि थोपरिएका विभिन्न सर्त मान्न तयार नभएको बताएको छ । कतारले पठाएको जवाफ चित्त नबुझेपछि उसमाथिको नाकाबन्दी अझै जारी छ ।

कतारमा अब सरकारी म्यानपावर मार्फत जान सकिने

कामको खोजीमा कतार जाने नेपालीहरूले अनेकौं समस्या भोग्नुपरिरहेको छ । त्यहाँ कामदारहरूले नेपालबाट कतार पठाउँदा एउटा कम्पनीमा पठाउने भनिए पनि कतार पुगेपछि अर्कै कम्पनीमा काम गर्नुपर्ने बाध्यता, तोकिएको भन्दा कम तलब, करार पत्रमा कम्पनीको छली, बस्ने बासस्थानको टुंगो नहुने जस्ता समस्या झेल्नुपरिरहेको छ ।

कामदारहरूलाई यस्तै समस्याबाट छुट्कारा दिलाउन कतार सरकार आफैंले म्यानपावर कम्पनी गठन गरेको छ । उक्त कम्पनी कतारका उद्योग तथा व्यापारमन्त्री अली विन अहमद अल कुवारीको निर्णयमा गएको पुस १८ देखि सञ्चालनमा आएको छ । ५ करोड ८० लाख रियाल पुँजी रहेको उक्त वाजा म्यानपावर कम्पनीले अब कतारका लागि आवश्यक विदेशी श्रमिकलाई आफैंले भर्ना लिने तयारी गरेको छ । यसमा कतारी नागरिकको मात्र सेयर छ । ५० वर्षसम्म काम गर्ने लक्ष्य लिएको वाजा म्यानपावर कम्पनीलाई सरकारले नै नियन्त्रण एवं व्यवस्थापन गर्ने बताइएको छ ।

कतार सरकारको श्रम कानुनअनुसार कुनै पनि श्रमिकले पैसा नतिरी त्यहाँ जान र काम गर्न पाउँछन् । यस्तो नियम भए पनि कामदारहरू चर्को शुल्क तिरेर कतार जान बाध्य छन् । विभिन्न म्यानपावरले कामदारको ठगी गर्दै आएको आरोप पनि नयाँ होइन । कतारको आफ्नै ‘सरकारी म्यानपावर कम्पनी’ सुरु भएपछि त्यस्ता म्यानपावरको ठगी रोकिने विश्वास गरिएको छ । वाजाले कामदार भित्र्याउने हरेक देशमा शाखा कार्यालय खोल्ने तयारी गरेको छ । भिसा प्रक्रिया सहज बनाउन ९ वटा प्रमुख देशमा भिसा सेन्टर खोल्ने निर्णय समेत भएको कतार सरकारले जनाएको छ ।

2 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु