pokhara news

सरिता गिरीलाई कारबाही गर्न जनता समाजवादीमाथि दवाव

नेपालको राष्ट्रियता, सीमा र सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर विवादित र आपत्तिजनक अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कारबाही गर्न उनकै पार्टी जनता समाजवादीमाथि दवाव परेको छ ।

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएलगत्तै तत्कालिन पार्टी समाजवादीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।

सांसद गिरीले राष्ट्रियताजस्तो संवेदनशील विषयमा संसद, सामाजिक सञ्जालबाट लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएकी छन् । उनको अभिव्यक्तिलाई लिएर उनकै पार्टी र बाहिर चर्को आलोचना भएको छ । उनीमाथि कारबाहीको माग भएको छ ।

संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने लिखित जानकारी सांसद गिरीलाई दिएका छन् । तर, सांसद गिरीका लगातारका आपत्तिजनक अभिव्यक्तिको विषयमा भने उनको पार्टी बोलेको छैन ।

राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी कै नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पूर्व सहयोगी विश्वदीप पाण्डेले गिरीमाथि कारबाही गर्नेबेला आएको सार्वजनिकरुपमै उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमार्फत लेखेका छन्, ‘बाबुराम भट्टराईले प्रम हुँदा आर्थिक अनियमितताको आरोपमा सरिता गिरीलाई मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो । देश हितविपरीत र पार्टीनिर्णयविपरीत जथाभावी काम गर्दै हिँड्ने यिनलाई प्रम, संसद र जसपाले कारबाही गर्ने बेला भएन र ? अब बहस हैन, ढिलो नगरी जसपाले गिरीलाई कारबाही गर्छ, गर्नुपर्छ ।’

जसपाबाहेक अन्य राजनीतिक दलका नेता र भाृत संगठनले पनि गिरीमाथि कारबाहीको माग गरेका छन् । सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ । गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमानमाथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै युवा संघले उनीमाथि कारबाहीको माग गरेको छ । युवा संघले गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रहसमेत गरेको छ ।

यसैगरी विपक्षी कांग्रेसको भातृ संस्था तरुण दलले पनि सांसद गिरीलाई तत्काल पदमुक्त गर्न माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीले मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाहीको माग गरेको छ । सांसद सरिता गिरीले आफनो पदीय मर्यादाविपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानआकर्षण भएको तरुण दलले जनाएको छ । गिरीलाई संसद पदबाट निलम्बन गरी कारबाहीको प्रक्रिया नथालेकोमा तरुण दलले असन्तुष्टि जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु