pokhara news

पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने

२० असार,पोखरा पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ । असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ । विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताए । उनका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । करिब ८५ लाखको लागतमा चिप्लेढुंगामा संचालनमा ल्याइएको दोहोरी साँझमा पारिवारिक वातावरण रहेको उनले बताए । दोहोरी प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । सम्बन्धित दोहोरी साँझकै नियमित कलाकार हुनुपर्ने र समूह दर्ता गर्दा दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने नियम रहेको प्रतियोगिताका संयोजक सुमन खड्काले जानकारी गराए । उनका अनुसार कलाकारले अनिवार्य नेपाली पोशाक लगाउनुपर्नेछ । दोहोरी प्रतियोगिता दिउँसो ३ बजेबाट विन्दवासिनी दोहोरी साँझमै हुने र साँझ ७ बजेपछि विशेष सांगीतिक साँझ सहित नियमित कार्यक्रम हुने उनले बताए । दोहोरी प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् । सान्तवना हुने टिमलाई समेत पाँच हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिज गुरुङ,रवी कार्की र अस्मिता डल्लाकोटी सहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ । प्रतियोगिता अवधिभर दिउँसो समेत रेष्टुरेण्ट खुल्ला रहनेछ । प्रतियोगिता हेर्न जाने दर्शकलाई प्रवेशका लागि टिकट लाग्ने छैन । सो समयमा रेष्टुरेण्टको मेन्युमा समेत परिवर्तन गरिने केसीले उल्लेख गरे । उनका अनुसार बाहिरका रेष्टुरेण्टकै रेटमा दिउँसोको समयमा खाजा उपलब्ध गराइनेछ । यस्तो खालको प्रतियोगिता नेपालमा नै पहिलो पटक भएको दाबी केसीको छ । उनले दोहोरी साँझलाई हेर्ने नजरमा फेरबदल हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । दोहोरी फोहोरी हो भन्ने मानसिकता बाट दुर भएर आउन उनको ग्राहकलाई आग्रह छ ।

12 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु