pokhara news

‘काठमाडौंको ‘बुक फ्रि फ्राइडे’ गाउँका विद्यालयमा पनि चलाऔं’

पोखरा । काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा विद्यालयमा पनि त्यसरी नै एकदिन जीवनउपयोगी शिक्षा सिकाउन पाए राम्रो हुन्थ्यो ।’ जवाफमा गाउँपालिकाले आफूहरु विद्यार्थीलाई खेती सिकाउने योजना रहेको बतायो । जवाफमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले आफूहरु पनि हप्तामा एकदिन विद्यार्थीलाई मौसमअनुसारको खेती गर्न सिकाउने योजनामा रहेको सुनाए । ‘हामीकहाँ ५७ वटा विद्यालय छन् । सबैमा सुरुमा नसकिएला, २÷३ वटा विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई मौसमी खेती सिकाउने योजना छ,’ भुगाइँले भने, ‘असारमा धान लगाउन, त्यसपछि गहुँ, कोदो लगाउन अनि मौसमी तरकारी पनि खेतमै लगेर लगाउन सिकाउँछौं ।’ अन्नपूर्ण–२ का हरिराम भण्डारीले पशुमा लम्पी स्किन रोग देखिएकाले त्यसले भयावह स्थिति लिन नसक्ने गरी योजना ल्याउन गाउँपालिकालाई आग्रह गरे । गाउँपालिकामा मौज्दात औषधि पनि नभएको जानकारी पाएकाले त्यो समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराए । ‘मान्छेमा कोरोना देखिएजस्तै पशुमा लम्पी स्किन रोग भयावह देखिएको छ । यसमा गाउँपालिकाभरको अनुगमन एकैपटक गर्न नसकिएला । तर, त्यसको जोखिमलाई ध्यानमा राखेर औषधि तयार राख्नप¥यो,’ उनले भने । जवाफमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले आफूहरुले बिहीबार कार्यपालिका बैठकबाटै लम्पी स्किन नियन्त्रणका लागि सबै पहल गर्न सम्बन्धित शाखालाई जिम्मा दिने निर्णय गरेको जानकारी दिए । ‘रोग फैलन नदिन के गर्न सकिन्छ ? के–के औषधि चाहिन्छ, के गर्नुपर्छ सबै गर्न भनेर पशु शाखालाई भनेका छौं,’ उनले सुनाए । अन्नपूर्ण ११ का जमान गुरुङले आफूले चार वर्षअघि स्वास्थ्य चौकी बनाएबापतको पैसा अहिलेसम्म नपाएको बताए । गाउँपालिकाबाट उपभोक्ता समितिलाई पैसा गएको भनिए पनि आफूले त्यो नपाएको उनको भनाइ थियो । ‘पुरै पैसा पाएकै छैन । उपभोक्ता समितिले हामीले हार्डवेयरमा तिर्दियौं भन्छ । त्यहाँ तिर्ने त मेरो काम हो नि,’ ठेकेदार गुरुङले सुनाए । उनले छानबिन गर्न माग गर्दै शुक्रबार नै न्यायिक समितिमा निवेदन दिएका छन् । न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आफूहरुले दुवै पक्षलाई बोलाएर सत्य पत्ता लगाउने बताइन् ।

15 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु